बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित छेडेदह ताल पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा उभिँदै गएको छ।
‘लभदह’ नामले समेत चिनिने यो तालको मनमोहक प्राकृतिक दृश्य, शान्त वातावरण र स्वच्छ हावाले दैनिक रूपमा घुम्न आउनेको संख्या बढ्दै गएको छ। विशेषगरी युवा पुस्ता र जोडीहरू बीच यो ताल लोकप्रिय बन्दै गएको देखिन्छ।
स्थानीय दिनेश बिसीका अनुसार ताल सौन्दर्य र महत्वका हिसाबले अत्यन्त महत्वपूर्ण भए पनि तलतर्फ निर्माण गरिएको सडकले संरक्षणमा समस्या थपिएको छ। सडक निर्माणपछि भू–क्षय बढ्नुका साथै तालको प्राकृतिक बनावट र पानीको बहाव प्रभावित भएको उहाँको भनाइ छ। यसले दीर्घकालमा ताल सुक्ने वा क्षति पुग्ने जोखिम बढाएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
छेडेदह ताल पर्यटकीय मात्र नभई धार्मिक र प्राकृतिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। ताल वरपरको हरियाली, स्वच्छ वातावरण र शान्तपनले यहाँ आउने पर्यटकलाई अझ आकर्षित गरिरहेको छ।
संरक्षणसँगै व्यवस्थित पूर्वाधार विकास गर्न सकिए यस क्षेत्रबाट स्थानीय आर्थिक गतिविधि बढ्ने र पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।
खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले छेडेदह तालको संरक्षणका लागि विभिन्न सरोकारवाला निकायसँग निरन्तर पहल भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार दीर्घकालीन संरक्षण, सडकको उचित व्यवस्थापन र पर्यटकीय पूर्वाधार विकासका लागि संघ, प्रदेश तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक छ।











