काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि लुम्बिनी रोयल्सले हात पारेको छ। शनिबार साँझ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै पहिलो पटक उपाधि जित्यो।
पहिलो संस्करणमा लिग चरणको पुछारमा सीमित लुम्बिनीले यसपटक उल्लेखनीय सुधार गर्दै उपाधि उचाल्न सफल भयो। सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले मात्र ९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो, जुन एनपिएल इतिहासमै सबैभन्दा कम ओभरमा हासिल गरिएको लक्ष्य हो।
लुम्बिनीका लागि दिनेश अधिकारीले आक्रामक ब्याटिङ गर्दै १३ बलमा पाँच छक्का प्रहारसहित ४२ रन जोडे। कप्तान रोहित पौडेलले १६ रनको योगदान दिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स कमजोर प्रदर्शनका कारण १९ ओभर १ बलमै ८५ रनमा अलआउट भयो। ईशान पाण्डेले सर्वाधिक ३३ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरीले २० बलमा १३ रन जोडे।
लुम्बिनीका बलरहरूले खेलमा पूर्ण नियन्त्रण जमाए। कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पेल्म्यानले समान तीन–तीन विकेट लिए भने तिलक भण्डारीले एक विकेट हात पारे। रोहितले ११औँ ओभरमा ह्याट्रिक गर्दै एनपिएल फाइनलमा पहिलो पटक यस्तो कीर्तिमान कायम गरे। यससँगै उनी प्लेयर अफ द सिरिज बन्ने प्रमुख दावेदार बनेका छन्।
दुवै टोलीले यसअघि उपाधि नजितेकाले यस सिजन एनपिएलले नयाँ च्याम्पियन पाएको हो। साविक विजेता जनकपुर बोल्ट्स लिग चरणमै बाहिरिएपछि नयाँ टोलीले उपाधि उचाल्ने निश्चित भएको थियो।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै फाइनल यात्रा तय गरेको थियो भने लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको थियो।
उपाधिसँगै लुम्बिनी रोयल्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता सुदूरपश्चिमले ५१ लाख, तेस्रो बनेको विराटनगरले २५ लाख र चौथो स्थानमा रहेको काठमाडौँले १५ लाख रुपैयाँ प्राप्त गरेका छन्।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा आठ टोली सहभागी थिए।











