काठमाडौं /सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार भएको महत्त्वपूर्ण खेलमा लुम्बिनी लायन्स विजयी बन्दै प्लेअफ यात्रा सुनिश्चित गरेको छ। जनकपुर राइनोजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी यस सिजनको अन्तिम प्लेअफ स्थान सुरक्षित गर्ने चौथो टोली बनेको हो।
यसअघि सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्स पहिल्यै प्लेअफ सुनिश्चित गरिसकेका थिए। शुक्रबारको नतिजासँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्रतियोगिताबाट बाहिरिएका छन्। कर्णाली याक्स त यसअघि नै बाहिरिने निश्चित भइसकेको थियो।
सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा रहँदै क्वालिफायरका लागि निश्चित भइसकेको छ। अब शनिबार हुने सुदूरपश्चिम र विराटनगर किंग्सबीचको खेल दोस्रो स्थानको टुंगो लगाउने निर्णायक हुनेछ। विराटनगरले दोस्रो स्थान ओगट्नका लागि ठूलो अन्तरको जित आवश्यक छ। यदि सानो अन्तरले जित्यो वा पराजित भयो भने काठमान्डु गोर्खाज दोस्रो हुनेछन्, विराटनगर तेस्रो र लुम्बिनी चौथो स्थानमा रहनेछन्।
लुम्बिनीको जितपछि शनिबार हुने चितवन र पोखराबीचको खेल तथा आइतबार राति तय गरिएको कर्णाली याक्स–जनकपुर भिडन्त औपचारिकतामै सीमित भएका छन्, किनकि यी खेलहरूले अब प्लेअफ समीकरणमा प्रभाव पार्ने छैनन्।
प्रतियोगिताअनुसार अंक तालिकाको शीर्ष दुई टोलीले मंगलबार पहिलो क्वालिफायर खेल्नेछन्। त्यहाँ विजयी हुने टोली मंसिर २७ गतेको फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोली दोस्रो क्वालिफायरमार्फत पुनः अवसर पाउनेछ।
तेस्रो र चौथो स्थानमा रहने दुई टोली बुधबार इलिमिनेटरमा भिड्नेछन्। इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा उक्लनेछ भने हार्ने टोलीको यात्रा त्यहीँ समाप्त हुनेछ।











