काठमाडौं
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई चरणसम्म सूचना जारी गरिए पनि एक जनाले पनि दरखास्त नदिएको समितिले जनाएको छ।
उपकुलपति छनोटका लागि गठित सिफारिस समितिले पहिलो सूचना कात्तिक १६ देखि ३० गतेसम्म खुला गरेको थियो। सो अवधि समाप्त भएपछि समय थप गर्दै मंसिर ५ गतेसम्म पुनः आवेदन आह्वान गरिएको थियो। तर दुवै चरणमा कुनै निवेदन परेको छैन।
यस अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज सार्वजनिक रूपमा इच्छुक तथा योग्य व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरेका छन्। मन्त्री पुनले सामाजिक सञ्चारमाध्यममार्फत, “दुईपटक विज्ञापन गर्दा पनि कसैको निवेदन आएन। स्वास्थ्य क्षेत्रमा प्राध्यापक वा पीएचडी भई मातृभूमिलाई सेवा गर्न चाहने देशभक्तहरूलाई आवेदन दिन अनुरोध गर्दछु। आवश्यक परे मसँगै सम्पर्क गर्नुस्,” भन्दै आव्हान गरेका छन्।
‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ संघीय संसदबाट पारित भई गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो।











