
काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा बोल्दै उनले सो बताएका हुन् ।
सम्बोधनका क्रममा उनले ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका विरुद्ध बोल्दामुखमा पानी हालेर बोल्दिनँ भन्ने प्रतिबद्धता दोर्होयाए ।
उनले भने, ‘सुशासन र पारदर्शिता विकासको अत्यावश्यक सर्त हो । अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतिपूर्ण रहेको छ । मैले पटकपटक भन्दै आएको छु– ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दामुखमा पानी हालेर बोल्दिनँ’, उनले भने,’भ्रष्टाचार बिरुद्धको सरकारको यस अभियानमा हाम्रा नियामक निकायहरूले यस अवधिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।’
उनले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको दाबीसमेत गरे । कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको प्रधानमन्त्री ओलीले बताए । कोरोना संक्रमणका कारण विकासको गति केही सुस्त भएको बताउँदै ओलीले महामारीको अवस्था नआएको भए आफूले अघिल्लो वर्ष गरेका प्रतिबद्धतालाई पूरा गर्न सकिने बताए ।
प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेबाट सार्वभौमसत्ताको सुरक्षाका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाएको बताए ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बितेका दुई आर्थिक वर्षमा ७ सय ९२ केसहरूमा मुद्दा चलाएको बताए। त्यस्तै राजस्व अनुसन्धान विभागले १ हजार २७ जनाविरुद्ध ३१ अर्ब ५ करोडभन्दा बढीको बिगो दाबीसहित राजस्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुन्डी कारोबारमा मुद्दा चलाएसमेत उनले बताएका हुन् ।