धनगढी — नेकपा (एमाले) नेता महेश बस्नेतविरुद्ध गरिएको जेनजी युवाहरूको प्रदर्शन बुधवार धनगढीमा तनावग्रस्त बनेको छ। कभर्ड हल अगाडि प्लेकार्डसहित प्रदर्शन गरिरहेका जेनजी प्रदर्शनकारीमाथि एमाले निकट राष्ट्रिय युवा सङ्घका कार्यकर्ताले आक्रमण गरेपछि केही युवा घाइते भएका छन्।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार जेनजी लिडर सरिता जोशीसहित केही प्रदर्शनकारीलाई चोटपटक लागेको छ।
एमाले नेता बस्नेत सहभागी हुने युवा जागरण अभियानका कार्यक्रमलाई लक्षित गरी जेनजी समूहले बिहानैदेखि सडकमा शान्तिपूर्ण प्रदर्शन गरिरहेको थियो। तर युवा सङ्घका कार्यकर्तासहितको मोटरसाइकल र्याली त्यहाँ पुगेपछि दुवै पक्ष आमनेसामने भएका थिए।
स्थिति बिग्रन नदिन प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। तर सुरक्षा घेरा तोडेर प्रवेश गरेका युवा सङ्घका केही कार्यकर्ताले जेनजी युवामाथि हातपात गरेको प्रहरीले जनाएको छ।
प्रहरीले थप तनाव रोक्न क्षेत्रलाई नियन्त्रणमा लिएको छ।
बस्नेत पछिल्लो समयमा जता गयाे उतै रडाकाे मच्चिरहेकाे सामाजिक सञ्जालमा देख्न सकिन्छ ।











