बझाङ /सुदूरपश्चिमका साइपाल र अपि क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तयारी अघि बढेको छ। नेपाल पर्यटन बोर्ड र सहारा नेपालद्वारा सञ्चालित दिगो पर्यटन परियोजनाले साइपालदेखि अपि आधार शिविरसम्म पदमार्ग निर्माणको सम्भाव्यता अध्ययन सुरु गरेको हो।
दुई सातासम्म गरिएको अध्ययनले होमस्टे, विश्रामस्थल, पदमार्ग र पुलजस्ता आवश्यक पूर्वाधार पहिचान गरेको सहारा नेपालका वसन्त बोहराले बताए। स्थानीय सहयोगमा भौतिक संरचना निर्माण थालिनेछ।
धुली गाउँबाट अपि बेस क्याम्प पुग्न एक साताभन्दा बढी पैदल यात्रा लाग्छ। निलखटी हिमाल (५२०० मि) पार गरेर बिरू ओडार र कालागाड हुँदै पुगिन्छ। पदमार्ग नहुँदा पहिलादेखि यात्रा कठिन थियो।
पुर्वाधार बनेपछि पर्यटकलाई बास, खाना र यात्रा सहज हुने अपेक्षा गरिएको छ। नेटवर्क नपुग्ने क्षेत्रमा नेपाल टेलिकमसँगको सहकार्यमा सेवा विस्तारको तयारी पनि छ।
स्थानीयका अनुसार पदमार्ग बनेपछि पर्यटक संख्या बढ्ने र रोजगारीका नयाँ अवसर सिर्जना हुने विश्वास छ।











