काठमाडौँ, मङ्सिर ३
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले उपविजेता छविलाई जोगाउँदै काठमान्डु गोर्खाजमाथि रोमाञ्चक जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको बुधबारको खेलमा सुदूरपश्चिमले २९ रनको विजय निकाल्यो।
एक सय ४८ रनको लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरमै पूरा टोलीसँगै एक सय रनमा समेटियो। यो जितसँगै सुदूरपश्चिमले पछिल्ला खेलमा पहिलो सफलता हात पार्दै दुई अंक जोडेको छ। दुई खेल खेलेको काठमान्डु पनि समान अंकमा रहेको छ।
यसअघि काठमान्डुले जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै आफ्नो अभियान राम्रोसँग सुरु गरेको थियो।
काठमान्डुको पक्षमा आकाश त्रिपाठीले सर्वाधिक ३४ रन जोडे। जोन सिम्पसनले २४, भिम सार्कीले १२, मिलिन्ड कुमारले ११ तथा सन्नी पटेलले १० रन बनाए। सुदूरपश्चिमका बलरहरू हेमन्त धामी, हर्मित सिंह र स्कट कग्जेजिनले प्रत्येकी दुई विकेट लिए भने इशान पाण्डे, नरेन साउद र अविनास बोहराले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभर पूरा हुनुअघि नै सबै विकेट गुमाए पनि एक सय ४७ रनको सम्मानजनक योग तयार गरेको थियो। पावरप्लेमै चार विकेट पतन भएपछि कप्तान दीपेन्द्र सिंह ऐरी र हर्मित सिंहले इनिङ्स सम्हालेका थिए।
हर्मितले २० बलमा ५३ रनको धुआँधार खेल देखाउँदै २ चौका र ६ छक्का प्रहार गरे। कप्तान ऐरीले ३९ रन जोड्दा उनले ३० बलमा ३ चौका र १ छक्का हानेका थिए।
इसान पाण्डेले २५ रन बनाए भने अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्।
काठमान्डुका कप्तान करण केसी दिनको उत्कृष्ट बलर बने। उनले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए। मिलिन्ड कुमार, रसिद खान र सन्नी पटेलले पनि दुई–दुई विकेट हात पारे।
बिहीबारको खेलमा साँझ ४ बजेदेखि लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुनेछन्।











