कञ्चनपुर / शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ५१४.३१ हेक्टर क्षेत्रफल विभिन्न ठाउँमा अतिक्रमण भएको पाइएको छ। निकुञ्जका ढक्का, तारापुर र लल्लरे डाँडा आसपासमा मात्रै ३७४.४२ हेक्टर क्षेत्र स्थानीय बस्तीले ओगटेको निकुञ्ज कार्यालयले जनाएको छ।
त्यस्तै, नेपाल–भारत सीमा क्षेत्रमा रहेको पिल्लर नं २८ को आसपास करिब १३९.८९ हेक्टर निकुञ्ज भूभाग भारतीय नागरिकले खेती गर्ने गरी प्रयोग गर्दै आएको कार्यालयको भनाइ छ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार आरक्ष विस्तारका बेला विस्थापित भएका परिवारहरू ढक्का, तारापुर र लल्लरे क्षेत्रमा बसेपछि सो क्षेत्र अतिक्रमणमा परेको हो। ढक्कामा ६०४, तारापुरमा १५५ र लल्लेरीमा १३ परिवार दीर्घकालदेखि बसोबास गर्दै आएका छन्।
वाग्लेका अनुसार निकुञ्जको कोर एरियामा मानवबस्ती रहेकाले वन्यजन्तुको आवास सिकुन्दै गएको छ। “विस्थापित बसोबासका कारण वन्यजन्तु र मानिस दुवै पक्ष प्रभावित बनेका छन्,” उहाँले बताउनुभयो।
यसअघि ३३ वटा आयोग गठन भए पनि विस्थापितको समस्या समाधान हुन नसक्दा निकुञ्ज क्षेत्र निरन्तर अतिक्रमणमा पर्दै आएको छ।
सीमा क्षेत्रमा खेति गर्छन् भारतीय नागरिक
पिल्लर नं २७ र २८ बीच सब–पिल्लर नहुँदा सीमा क्षेत्र विवादित बनेको छ। यही अस्पष्टताका कारण भारतीय नागरिकले निकुञ्जभित्रै खेती गर्दै आएको निकुञ्ज पक्षको दाबी छ।
गत जेठमा नेपाली सेना र निकुञ्ज कार्यालयले पिल्लर नं २८ नजिक संयुक्त सुरक्षा पोस्ट स्थापना गरी आवत–जावत र खेती कार्य रोक्न गस्ती बढाएको जानकारी वाग्लेले दिनुभयो।
हाल निकुञ्ज सुरक्षाका लागि नेपाली सेना र निकुञ्ज मिलेर १५ संयुक्त सुरक्षा पोस्ट संचालनमा छन्, साथै सेनाका ३ अलग पोस्ट मार्फत पनि गस्ती गरिँदै आएको छ।
दिनानुदिन बढ्दैछ मानव–वन्यजन्तु द्वन्द्व
विसं २०५८ मा आरक्ष विस्तारपछि विस्थापितहरू विभिन्न स्थानमा अनियोजित रूपमा बसोबास गरेकाले मानव–वन्यजन्तु द्वन्द्व बढ्ने क्रम जारी छ।
गत एक दशकमा जङ्गली हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु भएको तथ्यांक निकुञ्ज कार्यालयले सार्वजनिक गरेको छ।











