मस्काे/ रूसले किएभमा प्रहार गरेको घातक आक्रमणको भोलिपल्ट युक्रेनले मस्को नजिकैको क्षेत्रमा रहेको रुसी तेल प्रशोधन केन्द्रमा प्रहार गरेको दाबी गरेको छ।
युक्रेनी सेना अनुसार, रियाजान क्षेत्रमा रहेको उक्त केन्द्रलाई शत्रुको हवाई आक्रमण क्षमतालाई कमजोर पार्ने उद्देश्यले ड्रोनमार्फत निशाना बनाइएको हो। सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनले रुसभित्र समय–समयमा यस्तै प्रकारका हवाई आक्रमण गर्दै आएको छ।
रियाजानका गभर्नर पावेल माल्कोभका अनुसार, रुसी हवाई प्रतिरक्षाले रातभरमा २५ वटा युक्रेनी ड्रोन खसालेका छन्। खसेको भग्नावशेषका कारण एउटा औद्योगिक परिसरमा आगलागी भएको पनि उनले जनाएका छन्।
यसअघि रूसले किएभमा गरेको आक्रमणमा सात जनाको मृत्यु भएको थियो। घाइतेमध्ये एक वृद्धाले उपचारको क्रममा ज्यान गुमाएपछि मृतक संख्या थपिएको हो। पीडितहरूमा ७० वर्ष उमेरका एक दम्पति र ६२ वर्षीय पुरुष पनि रहेको बताइएको छ।
यता, निप्रोपेट्रोस क्षेत्रका स्थानीय अधिकारीहरूले निकोपोल शहरमा रुसी ड्रोनले प्रहार गर्दा पाँच जना घाइते भएको जनाएका छन्। निप्रो नदीको किनारमा रहेको यस सहरमा बिजुलीका तारमा ड्रोन ठोक्किँदा करिब ४४ हजार उपभोक्ता विद्युत् सेवाबाट वञ्चित भएको मस्को समर्थित प्रशासनले जनाएको छ।











