बाजुरा — बाजुरा जिल्लामा यस आर्थिक वर्ष धान उत्पादनमा वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र बाजुराका अनुसार, गत आर्थिक वर्षको तुलनामा यस वर्ष ७५८ मेट्रिक टनले धान उत्पादन बढेको हो।
गत वर्ष जिल्लामा १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो। चालु आर्थिक वर्ष २०८१/८२ मा उत्पादन बढेर १८ हजार २५८ मेट्रिक टन पुगेको छ।
त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा १६ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो। ती दुई वर्षको तुलनामा यस वर्ष उत्पादनमा उल्लेख्य सुधार आएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले जानकारी दिनुभयो।
साहनीका अनुसार पहिले किसानहरूले पुराना जातका धान खेती गर्थे जसमा उत्पादन न्यून हुने गर्थ्यो। अहिले भने किसानलाई रामधान, जुम्ली, सावित्री, हिमाली र खुमलजस्ता उन्नत जातका धान खेती गर्न प्रेरित गरिँदै आएको छ, जसका कारण उत्पादनमा वृद्धि भएको हो।
बाजुराका हिमाली, जगन्नाथ, स्वामिकार्तिक खापर, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाका विभिन्न क्षेत्रहरूमा धान खेती गरिन्छ। यहाँका किसानले चैत–वैशाखमा पाखोमा र जेठ–असारमा खेतमा रोपाइँ गर्ने गर्छन्।
जिल्लाको दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य रहेको छ। तीमध्ये ६ हजार ९१५ हेक्टर जमिनमा धान खेती हुने गरेको छ। यसमध्ये १३ हजार १४० हेक्टर जमिनमा उत्पादन हुने र प्रति हेक्टर १.९ मेट्रिक टन उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्रका प्रमुख साहनीले बताउनुभयो।











