डोटी, कार्तिक २३। डोटीको दिपायल सिलगढी नगरपालिका–९, कलेना स्थित सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक भारतीय नागरिक घाइते भएका छन्।
घाइते हुनेमा भारतको सैजानपुर जिल्ला, ग्राम खोटार निवासी ५५ वर्षीय राजेश सिंह रहेका छन् । घाइते सिंहको बाँया हातमा चोट लागेको र उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।
आज आइतबार बलुकि करिब ४ः३५ बजे दिपायलबाट कलेना तर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ च ३८५१ नम्बरको बोलेरो जिप सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरीका अनुसार सो जिप डोटी सायल गाउँपालिका–४ डौड निवासी ३१ वर्षीय चक्र सिंहले चलाएका थिए। जिप घुम्तिमा अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएकाे जनाएको छ ।
दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ।











