सिलगढी/ सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा चिसो बढेसँगै भेडापालक किसानहरूले आफ्ना गोठहरू बेँसी झार्न सुरु गरेका छन्।
कात्तिकको पहिलो सातादेखि तापक्रम घट्न थालेपछि चरनमा घाँसको अभाव र हिउँदको कठ्याङ्ग्रिने चिसोका कारण किसानहरू बिस्तारै तल्लो बेँसी क्षेत्रतर्फ सर्न थालेका हुन्।
बाजुराको पूर्वी–उत्तरी भागका बासिन्दाले पुस्तौँदेखि मौसमअनुसार गोठ सार्ने परम्परा जोगाइरहेका छन्।
हिउँद लाग्नेबित्तिकै भेडाबाख्रा लिएर बेँसीतर्फ झर्ने र चैत–वैशाखतिर गर्मी बढेपछि फेरि उच्च पहाडी चरनतर्फ फर्कने चलन आज पनि कायम छ।
पहिलेका समयमा गोठालाहरू बाटोमा भेटिने गाउँलेहरूसँग नुन, तेल, चामलजस्ता उपभोग्य वस्तु साटासाट गर्ने परम्परा पनि थियो।
तर अहिले सडक सञ्जाल विस्तारसँगै सामानहरू सिधै गाडीमार्फत गाउँमा पुग्ने भएकाले यो परम्परा बिस्तारै हराउँदै गएको छ।
सामुदायिक वन व्यवस्थापनका कारण चरनका क्षेत्र सीमित हुँदै जाँदा भेडाबाख्रा चराउन कठिनाइ बढेको स्थानीय गोठालाहरू बताउँछन्।
उनका अनुसार, चरन अभाव र वैदेशिक रोजगारीप्रति युवाको आकर्षण बढ्दै गएपछि भेडापालन व्यवसाय नै जोखिममा पर्न थालेको छ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशीका अनुसार अहिले जिल्लामा करिब ६७३ भेडीगोठ छन्, जहाँ ४१ हजारभन्दा बढी भेडाबाख्रा पालिन्छन्।
तर पछिल्ला वर्षहरूमा गोठहरूको संख्या घट्दो क्रममा छ। जैशीका अनुसार, “चरनको अभाव, वन क्षेत्रका प्रतिबन्ध, र युवाहरूको रोजगारीका लागि विदेशिने प्रवृत्तिले भेडापालन व्यवसायमा गिरावट आएको छ।”
पर्वतीय जीवनसँग जोडिएको भेडापालन आज पनि बाजुरा र आसपासका जिल्लाको संस्कृति, अर्थतन्त्र र पहिचानको हिस्सा हो। तर चरन अभाव र परिवर्तित जीवनशैलीले यो परम्परागत पेशा सङ्कटमा पार्दै गएको छ।











