कञ्चनपुर, कात्तिक १९ गते।
शुक्लाफाँटा नगरपालिका–९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक मल वितरण गर्न थालेपछि स्थानीय कृषिमा उत्साहजनक सुधार देखिन थालेको छ। माटोको उर्वराशक्ति बढ्नुका साथै उत्पादनस्तरमा पनि उल्लेखनीय वृद्धि भएको किसानहरूले बताएका छन्।
व्यवस्थापन केन्द्रले चौपायाबाट उत्पादन हुने मल किसानलाई सहुलियत दरमा उपलब्ध गराउन थालेपछि माटोमा जीवन्तता फर्किएको कृषकहरूको अनुभव छ। वडाध्यक्ष रमेशबहादुर ऐरका अनुसार हाल किसानले प्रतिट्याक्टर करिब चार हजार पाँच सय रुपैयाँमा मल पाउने व्यवस्था गरिएको छ।
“हामी किसानलाई रासायनिक मलको दीर्घकालीन असर र प्राङ्गारिक मलका फाइदाबारे नियमित सचेतना दिइरहेका छौँ,” वडाध्यक्ष ऐरले बताए, “रासायनिक मलले माटो कमजोर बनाउँछ भने प्राङ्गारिक मलले त्यसलाई फेरि उर्वर बनाउँछ।”
वडाध्यक्षका अनुसार अहिले केन्द्रमा १५–२० ट्याक्टर जति मल मौज्दात छ। पराल उपलब्ध गराउने किसानलाई निःशुल्क मल वितरण गर्ने योजना पनि सञ्चालनमा छ। “एक ट्याक्टर पराल ल्याउने किसानलाई सोही मात्राको मल निःशुल्क दिइन्छ,” उहाँले स्पष्ट पार्नुभयो, “यसले पशुखाद्यको आपूर्ति सहज बनाएको छ भने केन्द्रलाई खर्च घटाउन पनि सहयोग पुगेको छ।”
मल बिक्रीबाट प्राप्त रकम नगरपालिका सञ्चित कोषमा जम्मा हुने र त्यो रकम वडाका पूर्वाधार विकासका काममा प्रयोग गरिने जनाएको छ।
हाल केन्द्रमा चार सयभन्दा बढी पशुचौपाया राखिएका छन्। चौपायाको घाँस, चारा, औषधोपचार र हेरचाहका लागि आवश्यक खर्च नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ।
किसानहरू पनि प्राङ्गारिक मलको प्रभावकारिताबारे सकारात्मक छन्। आलुखेती गर्ने किसान लालबहादुर ऐरका अनुसार मलको प्रयोगपछि बालीको उत्पादन वृद्धि भएको छ। “पहिले रासायनिक मलले तुरुन्त नतिजा दिन्थ्यो तर माटो बिस्तारै निष्प्राण बन्दै गयो,” अर्का किसान भागिराम चौधरीले भने, “अब भने माटो फेरि जीवित भएको महसुस भइरहेको छ।”
नगरपालिकाका कृषि शाखा प्रमुख करणसिंह बुढा ऐरका अनुसार प्राङ्गारिक मलको प्रयोगले माटो मात्र होइन, मानव स्वास्थ्य र वातावरणमा पनि सकारात्मक प्रभाव पारिरहेको छ। उनका अनुसार नगरपालिकाले दीर्घकालीन दृष्टि अपनाउँदै रासायनिक मलको प्रयोग घटाउने र वातावरणमैत्री कृषि प्रणालीलाई प्रोत्साहन गर्ने नीति अघि बढाएको छ।











