कैलाली — धनगढी उपमहानगरपालिकाको फूलवारीका किसान मदनराज जोशीले खेतीपातीमा सरकारको उपेक्षा झेल्नु परिरहेको बताएका छन्। उनका अनुसार खेती गर्दा लागत उच्च र आम्दानी न्यून भएकाले किसानहरू खेत बेच्न बाध्य हुने अवस्था बढ्दै गएको छ।
जोशी भन्छन्, “धान र गहुँ उत्पादनपछि बेच्न पनि रुनुपर्ने किसानको नियति बनेको छ। खेती गर्दा मल, बिउ र सिँचाइका लागि धुरुधुरू रुनुपर्छ, उत्पादन बेच्दा पनि।”
सरकारले खेतीको सिजनमा समयमा मल र बिउ उपलब्ध गराउन नसक्दा किसानहरू वर्षैभरि सास्ती खेपिरहेका छन्।
कैलालीका किसानले धनगढी मोहनपुर, गौरीगंगा, टीकापुर, भजनी, सत्ती र जोशीपुरस्थित खाद्य डिपोहरूमा मात्र धान बिक्री गर्न पाउँछन्। तर खाद्य व्यवस्था कार्यालयले यस वर्ष पनि केवल ३५ हजार क्विन्टल धान खरिद गर्ने योजना बनाएकोले धेरै किसानलाई आफ्ना उत्पादन व्यापारीले तोकेको मूल्यमा बेच्न बाध्य बनाएको छ।
किसानहरूले भने सरकारको कृषि नीतिले वास्तविक उत्पादनकर्ताको हकहित सुरक्षित गर्न नसकेको गुनासो गर्दै आएका छन्। उनीहरूका अनुसार “फसलको उचित मूल्य नपाउँदा सर्वसाधारण कृषि कर्मबाट विमुख हुँदै गएका छन्,” र यसको दीर्घकालीन असर मुलुकको समग्र अर्थतन्त्रमा पर्ने चेतावनी पनि दिएका छन्।











