कैलाली /कैलालीको जोशीपुर गाउँपालिका–३, लकडामा शनिबार राति भएको घरेलु विवादले उग्र रूप लिँदा एक पुरुषको ज्यान गएको छ।
प्रहरीका अनुसार राति करिब ११ बजे सामान्य पारिवारिक विवादका क्रममा ३५ वर्षीया सुनिता देवी कठरियाले आफ्नै श्रीमान् ५० वर्षीय लखनलाल कठरियामाथि हतौडाले प्रहार गरेकी थिइन्। गम्भीर घाइते भएका लखनलाललाई तत्काल उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ।
इलाका प्रहरी कार्यालय भजनीका प्रमुख, प्रहरी निरीक्षक खगेन्द्रबहादुर साउँदका अनुसार घटनामा प्रयोग गरिएको हतौडा प्रहरीले बरामद गरेको छ। आरोपी सुनिता देवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।











