डडेल्धुरा – डोटीबाट डडेल्धुरा तर्फ गइरहेको जिप दुर्घटना हुँदा पाँच यात्रु घाइते भएका छन्। डा. केआई सिंह राजमार्ग अन्तर्गत गन्यापधुरा गाउँपालिका–३ मछलीखोला क्षेत्रमा शनिबार दिउँसो दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार लुम्बिनी प्रदेश ०१-००१ च ३३०१ नम्बरको बलेरो जिप करिब १२ बजेतिर अनियन्त्रित भई सडकमै पल्टिएको थियो।
दुर्घटनामा डोटीको सायल गाउँपालिका निवासी पाँच जना – १७ वर्षीया लाली साउँद, १८ वर्षीया लक्ष्मी साउँद, १९ वर्षीया अपेक्षा साउँद, १९ वर्षका मदन साउँद र १६ वर्षीय केशव साउँद घाइते भएका हुन्।
यीमध्ये लाली साउँदको अवस्था मध्यम रहेको र अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी डडेल्धुरा अस्पताल पठाइएको हो।
दुर्घटनाको कारण खुलेको छैन र घटनाबारे थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।











