डोटी, असोज २९
डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय युवाहरूले ४७ बुँदे माग राख्दै कार्यालयमा तालाबन्दी गरेका छन्।
पूर्वीचौकी गाउँपालिका युवा समाजले मंगलबार आफ्ना मागहरू प्रस्तुत गरे पनि कुनै ठोस निर्णय नआएपछि बुधबार दिउँसो करिब २ः४० बजे तालाबन्दी गरिएको युवाहरूले जानकारी दिएकाे छ।
युवाहरूबाट हामीले प्राप्त गरेकाे जानकारी अनुसार गाउँपालिकामा बजेट उपयोग, फर्निचर खरिद, सिँचाइ तथा खानेपानी योजना लगायतमा देखिएको अनियमितता र भूकम्पपीडित राहत रकमको स्पष्ट विवरण लगायतका माग पूरा नहुँदा युवाहरूले अन्तिम विकल्प राेज्न बाध्य भएका जनाएको छ ।
प्रशासनिक वातावरण तनावपूर्ण भएपछि गाउँपालिकाका कर्मचारीहरूले अर्को सूचना नआएसम्म दैनिक कामकाज स्थगित गर्ने निर्णय गरेका छन्।
हामीले गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई फाेन सम्पर्क गर्न खाेज्दा द्वयका माेबाइल स्वीचअफ छन् ।
आन्दोलित युवाहरूले हामीलाई दिएकाे जानकारी अनुसार तालाबन्दीका क्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, उपाध्यक्ष पशुपति खड्का, पाँच जना वडा अध्यक्ष, कर्मचारी लगायत आठ नाैँ जना भित्र थुनिएका छन् ।
पूर्वीचौकी गाउँपालिकाले तालाबन्दीप्रति आपत्ति
डोटीको पूर्वीचौकी गाउँपालिकाले युवा समाजद्वारा गरिएको तालाबन्दीप्रति गम्भीर आपत्ति जनाएको छ र वार्तामार्फत समस्या समाधान गर्न आह्वान गरेको छ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार अर्थात् २८ गते पूर्वीचौकी युवा समाजले पेश गरेको ४७ बुँदे मागका विषयमा गाउँपालिका र युवाबीच करिब ६ घण्टा लामो छलफल भएको थियो।
तर, २९ गते पुनः ७–७ जना प्रतिनिधि बसेर बुँदाहरूलाई अन्तिम रूप दिने प्रस्ताव गाउँपालिकाले गरे पनि युवातर्फबाट उक्त आग्रह अस्वीकार गरिएको गाउँपालिकाको भनाइ छ।
गाउँपालिकाका अनुसार, त्यसपछि युवाहरूले जनप्रतिनिधि, सेवाग्राही र केही कर्मचारीलाई कार्यालयभित्रै थुनेर मुख्य गेटमा ताला लगाउने जस्तो कार्य गरेका छन्, जसले मानव अधिकारको उल्लङ्घन गरेको गाउँपालिकाको भनाइ छ।
गाउँपालिकाले यस्तो कार्यप्रति घोर आपत्ति र भर्त्सना जनाउँदै, समस्या समाधानका लागि पुनः वार्ता र संवादको मार्गमा फर्किन युवाहरूमाथि आह्वान गरेको जनाएको छ।











