डोटी । डोटीको पूर्वीचाैकी गाउँपालिका–६ मा स्थानीय युवाहरूले बुधबार वडा कार्यालयमा तालाबन्दी गरेका छन्। आफ्ना मागहरूप्रति पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नहुँदा उनीहरूले सामूहिक रूपमा तालाबन्दी गरेको स्थानीय स्रोतले जनाएको छ।
तालाबन्दी गर्ने युवाहरूले वडाको कार्यप्रणाली र जनसेवाप्रति असन्तुष्टि माग पत्रमा समेत उल्लेख गरि उनीहरूले वडा प्रशासनमा चरम लापरबाही, सेवा प्रवाहमा ढिलासुस्ती र पारदर्शिताको अभाव भएको आरोप लगाएका छन्।
युवाहरूले उपलब्ध गराएको पत्रअनुसार वडामा चार जना कर्मचारीमध्ये मात्र एक जना नियमित रूपमा उपस्थित हुने गरेका छन्, बाँकी कर्मचारीहरू लामो समयदेखि कार्यालयबाट बाहिर रहेर पनि तलब बुझ्ने गरेको आरोप लगाइएको छ।
त्यसैगरी वडामा भेटेनरी (पशु सेवा) कर्मचारीको व्यवस्था भए पनि गाउँका जनतालाई औषधोपचारका लागि दिपायल वा धनगढी जानुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।
युवाहरूले भनेका छन्, “कृषि क्षेत्रमा बजेट छुट्याइए पनि त्यसको लाभ आम किसानले पाएका छैनन्। वडामा सूचना माग्दा पनि सूचना अधिकार अन्तर्गतका विवरण नदिइन्छ।”
सेवाग्राहीहरूले तीन–चार दिनसम्म वडा कार्यालयमा पुग्दा पनि सेवा नपाएर फर्किनुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ।
त्यस्तै, वडामा प्रशासनिक खर्च आवश्यकताभन्दा बढी गरिएको र बजेट वितरणमा कार्यकर्तामुखी नीति अपनाइएको उनीहरूको आरोप छ।
युवाहरूले वडाध्यक्ष जनताको बीचमा नभई घरमै बसेर कागजमा दस्तखत गराउने गरेको पनि दाबी गरेका छन्।
यस विषयमा हामीले वडा नम्बर ६ का अध्यक्षलाई घटना बारेमा विस्तृत रूपमा बुझन् खाेज्दा पालिकाकाे वेबसाइटमा राखिएकाे नम्बरमा सम्पर्क हुन सकेन ।











