कैलाली,
कैलालीको गोदावरी नगरपालिका–४ मा एक युवकमाथि धारिलो हतियार प्रहार गर्ने समूहका १० जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय गौरव ऐरमाथि शुभम् होटलमा नास्ता खाइरहेका बेला आक्रमण भएको हो।
आक्रमणपछि भारततर्फ भाग्दै गरेका ती व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–२ नजिकैबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा धनगढीका सन्नी नेपालीसहित १० जना रहेका छन्।
प्रहरीका अनुसार उनीहरू ‘कोब्रा सरकार’ नामक ग्याङका सदस्य हुन्, जसको नेतृत्व सन्नी नेपालीले गर्दै आएका थिए।
प्रहरीले ती सबैलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान थालेको जनाएको छ।
घटनाका क्रममा गम्भीर घाइते ऐरलाई प्रारम्भिक उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि भारत रिफर गरिएको प्रहरीले जनाएको छ।











