डोटी — असोज २५,
डोटीको जोरायल गाउँपालिका–१, गोल्डेनस्थित भिमदत्त राजमार्गमा शनिबार बिहान करिब ५ः३५ बजे यात्रुवाहक हाइस् दुर्घटना हुँदा एक जनाको मृत्यु र २१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अछाम मङ्गलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको हो।
गम्भीर घाइतेहरूमा अछाम मङ्गलसेन–९ का १८ वर्षीय लोकेन्द्र रावल, १६ वर्षीय एकेन्द्र बि.क., ३५ वर्षीया मोतिकला परियार, ११ वर्षीय बिराज परियार (जनक परियारका छोरा), ५३ वर्षीय भिम ब. ढोली, ११ वर्षीया शृष्टी परियार, १९ वर्षीय बिनोद परियार र ३० वर्षीया मनसरी परियार रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको अवस्था गम्भीर छ।
त्यस्तै अन्य सामान्य घाइतेहरूमा मङ्गलसेन–९ का ४२ वर्षीय मेघ्या ढोली, ५ वर्षीया आहाना परियार, ५ वर्षीया एलिसा परियार, ५० वर्षीया पदमा परियार, ५ वर्षीया रिया परियार, २३ वर्षीय रबि परियार, ३७ वर्षीय नृप ढोली, ३८ वर्षीय देवराज भाट, ५० वर्षीया इन्द्रसरा परियार (बान्निगढी–१ जयगढ), ४३ वर्षीय चक्र परियार, ४ वर्षीया सुप्रिया परियार, र २१ वर्षीया गौरी परियार रहेका छन्।
उनीहरूलाई पनि उपचारका लागि अस्पताल पठाइएको छ।
दुर्घटनामा कैलाली धनगढी उपमहानगरपालिका–१२, बी गाउँका ३८ वर्षीय चालक देबबहादुर थापा पनि घाइते भएका छन्।
प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह पुजाराको कमाण्डमा १४ जनाको टोलीले उद्दार कार्य गरी सबै घाइतेलाई पद्म अस्पताल अत्तरिया, कैलाली पठाइएको प्रहरीले जनाएको छ।
अछामबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३९५६ नम्बरको इभी (E.V.) हाइस् अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेपछि दुर्घटना भएको हो।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।











