कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा एक युवकको घाँटी रेटी हत्या गरिएको घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।
हत्या भएका व्यक्ति २८ वर्षीय केशरबहादुर बुढा भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई नियन्त्रणमा लिएको हो।
शुक्रबार राति खाजा खाने क्रममा भएको आपसी विवाद चर्किएपछि बुढामाथि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले बताए ।
घटनापछि मृतकको टाउको छिनाएर बोकी सुखडतर्फ आत्मसमर्पण गर्न जाँदै गर्दा दुबै आरोपीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार, मृतकको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर भने घटनास्थलमै रहेको छ।
डीएसपी अवस्थीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। यस बीभत्स घटनाले आसपासका बासिन्दामा डर र आक्रोश दुवै फैलिएको छ।











