
सिलगढी — दसैंको रौनक गाउँ–सहरभर छाएको छ। घर परिवारमा भेटघाट, रमाइलो र पकवानको स्वादले मन भरिन्छ। तर सुदूरपश्चिमका धेरै नागरिकका लागि दसैंको रमाइलो केही दिनको मात्रै हो। चाडबाड मनाएपछि उनीहरू फेरि आफ्नो पुरानो कर्मथलो—भारतको यात्रा सुरु गर्छन्।
सुदूरपश्चिमीहरूले रोजीरोटी, उपचार, किनमेलका लागि भारतको विभिन्न शहरतिर पाइला टेकेका छन्। उत्तराखण्ड, कालापहाड, रत्नागिरीदेखि नयाँदिल्ली, मुम्बई र बैंगलोरसम्म सुदूरपश्चिमीहरूको उपस्थिती देख्न सकिन्छ। कतिपयका लागि यो यात्रा केवल काम मात्र होइन, परिवारको पेट पाल्ने बाध्यता हो।
बझाङका बिर्खे धामी दसैं बिदा सकेर बैंगलोर फर्किँदै थिए। “घरको खेतीले दुई महिना मात्र खान पुग्छ। छोराछोरी पढाउनु पर्छ। दसैंपछि फेरि परदेश जानु बाध्यता हो,” उनले पीडासँग भने। कैलालीका भीम साउद सुरतमा मजदुरी गर्दै परिवार पाल्छन्। उनले भने, “दसैंमा परिवारसँग भेट्दा मन खुशी हुन्छ, तर फर्कँदा पीडा त उत्तिकै हुन्छ। यो बाध्यता कहिलेसम्म रहला थाहा छैन।”
पछिल्लो समय पुरुषमात्र होइन, महिला पनि कमाउने क्रममा देखिएका छन्। बझाङ, बाजुरा र अछामका महिलाहरू घरायसी कामदारका रूपमा खाना पकाउने, सरसफाइ र लुगा धुने काम गर्छन्। धौली धामी भन्छिन्, “कमाइ राम्रो हुन्छ। तर टाढा बस्दा मन खल्लो हुन्छ। जे भए पनि आफ्नो देश सधैं विशेष हुन्छ।”
दसैंपछि नाकामा देखिने लाइनहरू सयौँ मानिसहरूको कथा सुनाउँछन्—सपना, संघर्ष र बलिदान। उनीहरूको एकमात्र उद्देश्य छोराछोरीको उज्ज्वल भविष्य सुनिश्चित गर्नु।
सुदूरपश्चिमीहरूको जीवनले देखाउँछ—चाडबाडको खुसी अस्थायी छ, तर परिवारको भरणपोषणका लागि उनीहरूको मेहनत निरन्तर छ।