
डोटी — जिल्लामा देखिएका विभिन्न समस्या समाधानका माग गर्दै जेन–जीका प्रतिनिधि र राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्तरूपमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएकाे छ ।
सोमबार जेन–जी सहजकर्ता हर्क बोहरा, जेन–जी डोटीका संयोजक सेलिजा के.सी, सह–संयोजक विपना सोव, रास्वपा डोटीका जिल्ला संयाेजक केशव बलायर लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी माेहनराज जनेशीकाे कार्यकक्षमा पुगेर मौखिक रूपमा पाँच बुँदे ध्यानाकर्षण गराएको हो।
टोलीले जिल्लामा पेट्रोल र डिजेलमा भइरहेको कालोबजारी तथा अभाव, जनताले भोग्नुपरेको लगातारको लोडसेडिङ, पछिल्ला दिनमा बढ्दै गएको हत्या–हिंसा नियन्त्रणका लागि सिसिटिभी जडान, सिलगढी- झिग्राना जाने सडक खण्ड सुधार र सवारीसाधनहरूले क्षमता भन्दा बढी यात्रु बोक्ने समस्या समाधानका विषयमा माग गरेका छन्।
प्रमुख जिल्ला अधिकारीले उठाइएका विषयहरूलाई गम्भीरतापूर्वक लिएर तत्काल सम्बोधनका लागि नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, भौतिक पूर्वाधार विकास कार्यालय, ट्राफिक र प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । साथै, उनले समस्या समाधानका लागि आवश्यक कदम चाल्ने र गलत कार्यमा संलग्न पाइएमा कडा कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।