मनमाेहन ठकुल्ला, सिलगढी
” दिपायल–सिलगढी जाने योजना बनाउँदै हुनुहुन्छ भने पहिले पेट्रोलको जुगाड गर्न नबिर्सनुहोस् — किनभने त्यहाँ पुगेपछि ‘मोटरका पम्प मरेको ‘प्रशासन’ का कारणले पेट्रोल ब्ल्याकमै पाइन्छ ” भन्ने व्यानर सामाजिक सञ्जालमा भाइरल भएकाे छ । उक्त व्यानरले वर्तमान समयमा दिपायल सिलगढीमा पेट्रोलमा भएकाे कालाे बजारीलाई राेक्न चेतावनी नै टाँसिएको छ।
‘बोल्न्या थली (फ्रिडम अफ स्पिच ) नामक समूहले व्यङ्ग्यात्मक शैलीमा राखेको उक्त व्यानरमा लेखिएको छ –”त्यहाँ मोटाएका पम्प र मरेकाे प्रशासन कारण पेट्रोल ब्ल्याकमा मात्र पाइन्छ।” सन्देश पढ्ने जो कोहीलाई हाँसो लागे पनि व्यथित यथार्थ भने त्यही हो — दिपायल र वरपरका क्षेत्रमा बेलाबखतमा पेट्रोल सहजै उपलब्ध छैन। साेही समस्या वर्तमान समयमा खेप्नु परेकाे स्थानीयकाे गुनासाे छ ।
याे समस्या स्थानीयहरूले लामो समयदेखि झेल्दै आएका छन्। पम्पहरू बन्द छन्, पसलमा पेट्रोल ब्ल्याकमा प्लास्टिकका बोतलमा बिक्री हुन्छ, र यस विषयमा प्रशासन भने मौन छ।
‘दिपायल १७९ किलोमिटर टाढा छ, तर पेट्रोल झन् टाढा!’ व्याङग्य तरिकाले लेखिएको उल्लेखित शब्द व्यानरकाे बायाँ तर्फ सडककाे छेउछाउमा बनाएकाे “माइलस्टाेन” काे नमुना बनाएर लेखिएकाे छ ।
सामाजिक सञ्जालमा पनि यो व्यानर निकै चर्चामा आएको छ। कतिपयले “बोल्न्या थलीले साच्चिकै बोल्ने थाली बजाएको” भन्दै टिप्पणीसहित समर्थन जनाएका छन्, भने केहीले यसलाई “सिस्टममाथिको व्यङ्ग्यपूर्ण चोट” भनेका छन्।
प्रशासनले अनुगमन गर्ने तयारी
जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार आफूलाई जिल्लामा पेट्रोलको कालोबजारीबारे अहिलेसम्म औपचारिक जानकारी नभएको बताए।
उनका अनुसार, “हामीले अब कुन पसलबाट बोतलमा पेट्रोल बिक्री–वितरण भइरहेको छ ? भन्ने विषयमा पहिला पसल अनुगमन गर्छौं, त्यसपछि आवश्यक कारबाही अघि बढाउँछौं,” जोशीले थपे,” कुन पसलमा हुन्छ हामीलाई जानकारी दिनु पर्याे ।”
प्रमुख जिल्ला अधिकारी जाेशी थप्छन्,” त्याे प्रशासनकाे अधिकार र चाँसाेकाे विषय भएकाले बजार अनुगमन गर्ने तयारी छ, त्यसपछि कार्वाही प्रक्रिया अघि बढ्छ, याे तत्काल हुन्छ । ”
स्थानीयले भने तत्काल प्रभावकारी कदम चाल्न प्रशासनसँग आग्रह गरेका छन्, ताकि दिपायल–सिलगढी क्षेत्र पेट्रोलको अभाव र कालोबजारीको समस्या मुक्त होस्।











