सिलगढी / देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण बाढी र पहिरोबाट हालसम्म ४३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारदेखि सुरु भएको वर्षाले आइतबार दिउँसो २ बजेसम्म ठूलाे जनधनको क्षति पुर्याएको हो ।
सबैभन्दा बढी इलाम जिल्लामा ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता छन् । सोही जिल्लामा एक गर्भवतीसहित दुई जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी, पाँचथरमा पहिरोमा परेर एक जनाको, खोटाङ र उदयपुरमा खोलाले बगाएर एक–एक जनाको र रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । बाढी–पहिरोका कारण हालसम्म पाँच जना बेपत्ता र १२ जना घाइते भएका छन् ।
यसैबीच, भक्तपुरबाट नुवाकोट हुँदै रसुवाको पर्यटकीयस्थल लाङटाङतर्फ गएका चार जना युवा–युवती वेरिङ खोलामा आएको बाढीले बगाएका छन् । १६ जनाको समूहमा यात्रा गर्दै गरेका तीमध्ये मध्यपुरठिमीकी संकृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर–१० का रवि श्रेष्ठ बेपत्ता रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।
उनका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्सामा आएको बाढीपछि ती चार जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।











