डोटी, असोज १८ ।
डाेटीकाे के.आई.सिंह गाउँपालिका–४ वायल क्षेत्रमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घाइते हुनेमा सोही वडाका बास्कोट निवासी २१ वर्षीय आशिष सिजापती र गाेगन खोलाका
२५ वर्षीय कृष्ण पाण्डेय रहेका छन्। सिजापतीको घाटीमा सामान्य चोट लागेको र उनको अवस्था स्थिर रहेको प्रहरी कार्यालयले जनाएको छ। पाण्डेयको दाहिने खुट्टा र हातको कुइनोमा चोट लागेकाले स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।
बिहान करिब ११ बजेर ५ मिनेटतिर चन्केशैनबाट वायल बजारतर्फ आउँदै गरेको सु.प.प्र.०३–००१ बा ००४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा पल्टिएकाे डाेटी प्रहरीले जनाएको छ ।
वडा अध्यक्ष जयबहादुर धामीका अनुसार घाइते दुवै जना वडा कार्यालयका कर्मचारी होइनन्। “मलाई मोटरसाइकल चलाउन आउँदैन, त्यसैले प्रायः मेरो सहयोगी आशिष नै चलाउँछ,” धामीले भने।
उनका अनुसार चन्केशैनका किसान डिल्लीराज शर्माका बाख्रा बिरामी भएको खबर आएपछि स्थानीय एग्रोभेट सञ्चालक कृष्ण पाण्डेयलाई औषधिसहित पठाइएको थियो।
दशैंको समय भएकाले पशु सेवा शाखाका कर्मचारी बिदामा रहेकाले किसानलाई सेवा पुर्याउन व्यवहारिक रूपमा वडा कार्यालयको मोटरसाइकल प्रयोग गरिएको वडा अध्यक्षकाे दावी छ ।











