डोटी, असोज १७
डोटीको दिपायल सिलगढी नगरपालिका–२ स्थित नगरपालिकाको गेट नजिक आइतबार दिउँसो करिब १:५० बजे मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
पिपल्लाबाट विमानस्थलतर्फ जाँदै गरेको से २ प ८४२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा पछाडि सवार बाजुरा, हिमाली गाउँपालिका–६ का १७ वर्षीय अभिषेक भण्डारी घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनको दायाँ हात, अनुहार, घुँडा र छातीमा चोट लागी गम्भीर अवस्थामा उपचारका लागि शैलेश्वरी अस्पताल, दिपायलमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक, ऐरादेवल–८ निवासी १७ वर्षीय रमित बोगटी भने दुर्घटनापछि फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी नियन्त्रणमा राखिएको छ।











