सिलगढी,असाेज १६
नेपालीको महान पर्व बडादशैं आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने क्रम जारी छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष टीका लगाउनका लागि बिहान ११ बजेर ५३ मिनेटलाई उत्तम साइत तोकेको छ । समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईका अनुसार परम्पराअनुसार टीका थाप्ने व्यक्ति पूर्व फर्कनुपर्छ भने टीका लगाइदिने मान्यजन पश्चिम फर्किनुपर्छ । दक्षिणतर्फ फर्केर टीका लगाउने प्रचलन कतै कतै भए पनि त्यसलाई उपयुक्त मानिँदैन । उनका अनुसार दक्षिण दिशा पितृकर्मका लागि मात्र प्रयोग गरिने भएकाले दशैंको टीका लगाउँदा त्यसतर्फ नफर्किन सुझाव दिइएको हो ।
यस वर्ष देवी विसर्जनको साइत बिहान ९ बजेर २३ मिनेटमा तोकिएको छ । समितिले तोकेको साइतअनुसार ११:५३ मा टीका लगाउन नसक्नेले देवी विसर्जन गरेलगत्तै घाममा नै टिका लगाउन सक्ने बताइएको छ ।
टीका र जमरा देवीदुर्गाको पूजाको प्रसाद भएकाले साइत हेरेर मात्र लगाउनुपर्छ भन्ने बाध्यता नभएको पनि समितिको भनाइ छ ।
दशैं पर्व नेपाली समाजमा मात्र रमाइलो र आनन्दको अवसर नभई आपसी सम्बन्ध सुदृढ गर्ने, आदर–सत्कारको संस्कारलाई निरन्तरता दिने र वृद्ध–वृद्धाको आशिर्वाद ग्रहण गर्ने महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । परिवार, आफन्त र नातागोता एकै थलोमा भेला भई आशिर्वाद थाप्ने परम्पराले पुस्ता–पुस्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ ।











