डोटी, असोज १५
डोटीको जोरायल गाउँपालिका–२ मिल चौराहामा गए राति आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय दिपक साउँदको काठले बनेको जस्तापाताले छाएको दुई तले फेन्सी पसलमा विद्युत सर्ट भएर आगलागी भएको हो।
आगो लाग्दा पसलभित्र रहेका फेन्सी कपडा, जुत्ता, चप्पल र काठका फर्निचर आंशिक रूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमान अनुसार करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने मानवीय क्षति भने भएको छैन ।
आगलागीबारे जानकारी आएलगत्तै प्रहरी बरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा १० जनाको टोली खटिएको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा राति करिब १०:३० बजे आगो नियन्त्रणमा आएको प्रहरीको भनाइ छ।











