धनगढी – सुदूरपश्चिम प्रदेशमा आगामी दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ। प्रदेश प्रहरी कार्यालय धनगढीले विशेष सुरक्षा योजना कार्यान्वयन गर्दै ५ हजार ७७ जना सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।
हालै ‘जेनजी’ आन्दोलनका क्रममा विभिन्न कारागारमा भएको तोडफोड र कैदीबन्दी फरार घटनाले थपिएको चुनौतीलाई मध्यनजर गर्दै यसपालि सुरक्षा रणनीति फरक ढंगले अघि सारिएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार, चाडपर्व अवधिभर आपराधिक गतिविधि रोकथाम र नियन्त्रणका लागि डीआईजी तथा एसएसपीको कमाण्डमा विशेष टोली परिचालन हुनेछ। त्यसैगरी, प्रदेशका नौ वटै जिल्लामा एसपी र डीएसपीको नेतृत्वमा सुरक्षाकर्मीहरू खटिने व्यवस्था मिलाइएको छ।
कार्यालयका सूचना अधिकारी एसएसपी प्रकाश रानाभाटका अनुसार, सम्भावित घटना तथा दुर्घटनालाई रोक्न सवारीसाधन चेकजाँचलाई थप कडाइ गरिनेछ। मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेमाथि पनि विशेष निगरानी राखिने उनले बताए।
कारागारबाट फरार भएका कैदीहरूलाई नियन्त्रणमा लिन सीमा क्षेत्रमा निगरानी कडाइ गरिएको छ। भारतसँग समन्वय गर्दै आवतजावत हुने नाकामा कडाइका साथ चेकजाँच गरिने र सबै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिइसकिएको प्रहरीले जनाएको छ।
यस्तै, चाडपर्वमा घर फर्किने वा यात्रामा निस्कने नागरिकलाई सहयोग पुर्याउन प्रदेशभर ६५ वटा स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यी कक्षहरूमा २०९ जना प्रहरी परिचालन गरी यात्रुहरूलाई आवश्यक जानकारी र सहयोग उपलब्ध गराइने प्रहरी कार्यालयले जानकारी दिएको छ।











