सिलगढी – जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभर आंशिकदेखि साधारण बदली हुने जनाएको छ। हाल मनसुनी वायु केही कमजोर भए पनि स्थानीय वायुको आंशिक प्रभाव रहने महाशाखाले जनाएको हो।
दिउँसो कोशी प्रदेशसहित देशका अन्य पहाडी भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ। कोशीका विभिन्न स्थान, अन्य पहाडी भू–भागका केही स्थान र तराईका एक–दुई क्षेत्रमा मध्यम वर्षा पर्न सक्ने सम्भावना छ।
महाशाखाका अनुसार राति पनि कोशी प्रदेशसहित अधिकांश पहाडी भू–भाग आंशिक बदली हुने देखिएको छ। बागमती र गण्डकीका पहाडी क्षेत्रमा समेत वर्षा हुने सम्भावना छ भने मधेश प्रदेशका केही स्थानमा समेत वर्षा हुने अनुमान गरिएको छ।
विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।











