सिलगढी – हाल देशभर मनसुनी वायुको प्रभाव केही कमजोर भए पनि स्थानीय वायुको आंशिक असर जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहने अनुमान छ भने बाँकी प्रदेशमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भाग र तराईका एक–दुई स्थानमा मध्यम वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, राति पनि कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा साधारण बदली रहने र देशका अन्य भागमा आंशिक बदली हुने देखिएको छ। मध्यम वर्षा हुने सम्भावना यथावत् रहेकाले महाशाखाले पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) तथा नदी–नालामा पानीको सतह बढ्ने जोखिमबारे चेतावनी दिएको छ।
यसैगरी, वर्षाका कारण यातायात क्षेत्रमा असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन र आवश्यक पूर्वतयारी अपनाउन आग्रह गरिएको छ।











