मनमाेहन ठकुल्ला
डोटी, असाेज ३ गते
डोटीको दिपायल सिलगढी नगरपालिका–७ अवस्थित अरुणोदय आधारभूत विद्यालयमा शुक्रबार कृषि सम्बन्धी सचेतनामूलक सडक नाटक गरिएकाे छ ।
तरकारी तथा खेतीपातीमा बजारीय विषादीको न्युनिकरण गर्ने उद्देश्यले एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रविधिक सहयोग र सामुदायिक विकास मञ्च डोटीको आयोजनामा “प्राकृतिक खेतीबाट उत्पादित विषादीरहित खाद्यान्नमा आधारित सडक नाटक” प्रदर्शन गरिएको हो।
गुड नेवर्स इन्टरनेशनल नेपालका कर्मचारी निरज बोगटीका अनुसार विषादीयुक्त खाद्यान्नले बालबालिकाको स्वास्थ्यमा बढी असर गर्ने भएकाले विद्यालयमा अध्ययनरत विद्यार्थीमार्फतै नाटक प्रस्तुत गरी समुदायलाई सन्देश प्रवाह गरिएको हो।
कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी र सरोकारवालाहरूको बाक्लो उपस्थिति थियो।
पछिल्लो समयमा खाद्यान्नमा विषादीको अत्यधिक प्रयोग भइरहेको स्थानीयको भनाइ छ। तर यस्ता सचेतनामूलक कार्यक्रमले विषादी न्युनिकरण गर्न सकिने विश्वास सहभागीहरूले व्यक्त गरे ।
विद्यार्थीहरूले गाउँघरमा गाई–गोरु पाल्ने प्रचलन हराउँदै गएपछि बजारबाट ल्याएको विषादी प्रयोग गर्ने प्रवृत्ति बढेको र यसले मानिसको स्वास्थ्यमा गम्भीर असर पारिरहेको धारणा व्यक्त गरे।
बाल क्लबका विद्यार्थीहरूको भनाइमा, उनीहरूले सिकेका कुरा स्थानीय कृषकलाई पनि सम्झाइ–बुझाइ गर्नेछन्। यसले समुदायमा विषादीरहित खेतीतर्फ ध्यान केन्द्रित गराउने अपेक्षा गरिएको छ।
स्थानीय दुर्गा खड्काले आफूले व्यावसायिक रूपमा तरकारी खेती नगरे पनि परिवारलाई प्रयाप्त हुने खाद्यान्न उत्पादनका लागि घरमै कम्पोस्ट मल प्रयोग गर्ने गरेको अनुभव सुनाइन्।
उनले थपिन, “हामी घरमा बनाएको मल खेतमा प्रयोग गर्छौं। बजारमा पाइने मल कस्तो हुन्छ, थाहा छैन।”
विद्यालयमा प्राकृतिक खेतीबारे नाटक प्रस्तुत गर्नुका पछाडि गहिरो उद्देश्य रहेको शिक्षकहरूले बताए। उनीहरूको भनाइमा,” यसले विद्यार्थीहरूलाई बाल्यकालदेखि नै स्वस्थ जीवनशैली र विषादीरहित खानाको महत्वबारे सचेत गराउँछ।”
प्रधानाध्यापक दिपेन्द्र खड्का भन्छन्, “नाटकको माध्यमले जटिल विषयहरू पनि सजिलै बुझ्न सकिन्छ। विद्यार्थीहरूले सिकेका कुरा परिवार र समुदायमा सन्देशका रूपमा पुर्याउँछन्। यसले विद्यालयलाई ज्ञानसँगै व्यवहारिक चेतना फैलाउने केन्द्र बनाउँछ र दीर्घकालमा स्वस्थ, समतामूलक समाज निर्माणमा टेवा पुर्याउँछ।” अन्ततः कार्यक्रममा प्रधानाध्यापक खड्का थप्छन् ,” बालविवाह र कृषि सम्बन्धि सडक नाटक बहुउद्देश्यीय कार्यक्रम हुन् ।”
सडक नाटक ओैपचारिक कार्यक्रम गर्नुभन्दा पहिले शिक्षक विद्यार्थी अभिभावक लगायतका सहभागीद्वारा बस्तीमा र्याली निकालेर सञ्चालन गरेकाे हाे ।

कार्यक्रममा सहभागी अभिभावक, शिक्षक, विद्यार्थी, संस्थाका कर्मचारी तथा सरोकारवालाहरूले प्राकृतिक खेतीतर्फ फर्कनुपर्ने आवश्यकता औंल्याउँदै यस्ता सचेतनामूलक गतिविधि निरन्तर गर्नुपर्ने धारणा राखेका थिए।











