सिलगढी/जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले मुलुकभर मनसुनी गतिविधि सक्रिय बनेको छ।
आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा अन्य भागका थोरै क्षेत्रमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। यी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा ठूलो वर्षा पर्न सक्ने सम्भावना छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा सामान्य बदली रहनेछ भने बाँकी तराई भू–भागमा आंशिक बदली हुने विभागले जनाएको छ। थोरै स्थानमा मध्यम वर्षा पर्न सक्ने देखिएको छ।
महाशाखाले वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) र नदी–नालामा पानीको सतह बढ्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। साथै यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी गर्नुपर्ने चेतावनी दिइएको छ।











