सिलगढी /हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर मौसम आंशिकदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो अधिकांश स्थानमा बादल छाउने र पहाडी क्षेत्रमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। तराईका कतिपय भागमा समेत वर्षा हुने सम्भावना छ।
विशेषगरी कोशी प्रदेशसँगै बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा स्थानीय स्तरमा ठूलो वर्षा पर्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
आज राति पनि देशभर सामान्यतया बादल रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, मधेस, लुम्बिनी र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षा हुने अनुमान गरिएको छ।











