सिलगढी / पछिल्ला २४ घण्टामा सुदूरपश्चिमका डडेलधुरा र कैलाली जिल्लामा मुसलधारे वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको शुक्रबार बिहान १०:३० सम्मको तथ्याङ्कअनुसार डडेलधुराको गाइबन्डेमा करिब २१० मिलिमिटर र कैलालीको चिसापानीमा करिब २०३ मिलिमिटर वर्षा मापन गरिएको छ।
यति धेरै पानीलाई अति भारी वर्षा श्रेणीमा राखिने भएकाले बाढी तथा पहिरोको सम्भावना बढेको विभागले जानकारी दिएको छ। दार्चुला, बैतडी, डडेलधुरा र कैलालीलगायतका ठाउँमा अहिले पनि वर्षा भइरहेको विभागले जनाएको छ।
लगातारको वर्षाले दैनिक जीवन प्रभावित हुन सक्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।











