काठमाडौं । काठमाडौंमा आज बिहान ८ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐनअनुसार काठमाडौं महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा कर्फ्यु लागू हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिएका छन्।
आदेशअनुसार तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका गतिविधि पूर्ण प्रतिबन्धित रहनेछन्।
कर्फ्यु आदेश काठमाडौं चक्रपथ भित्रको क्षेत्रमा लागू हुनेछ। यसमा बालकुमारी पुलदेखि कोटेश्वर, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयंम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको सम्पूर्ण भूभाग पर्छ।
तर, अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कूटनीतिक नियोगका सवारीसाधन, पर्यटक सवारी तथा हवाई टिकट देखाएर यात्रा गर्ने व्यक्तिहरूलाई सुरक्षाकर्मीको सहजीकरणमा आवागमन गर्न पाइने व्यवस्था गरिएको छ।











