कविता : शीर्षक “अपुताेलाई के थाहा ?”
अपुताेलाई के थाहा
फूल प्रतिको माया के हो ?
अपुताेलाई के थाहा
पुताहरूप्रतिका सपना कस्ता हुन्छन् ?
अपुताेलाई के थाहा
फूल हुर्काउन, अभिभावकको संघर्ष कस्तो हुन्छ ?
अपुताेलाई के थाहा
काेपिला गुमाउनुको पीडा के हो ?
अपुताेलाई के थाहा
फूल लगाएको लगानी के हो ?
अपुताेलाई के थाहा
आर्यघाटमा फूल जल्दा आँखाकाे आँसु कति हुन् ?
अपुताेलाई के थाहा
आमाले जन्म दिँदा सहने वेदना के हो ?
अपुताेलाई के थाहा
फूल ओइलिँदा मनको सुन्यता कस्तो हुन्छ ?
धनी अपुताेलाई के थाहा
ऋण मागेर फूल हुर्काउने विवशता के हो ?
अपुतालाई के थाहा
आफ्नो फूल अर्कैले कुल्चिँदा कस्तो असहायता हुन्छ ?
अपुताेलाई के थाहा
गमलामा फुलाएको फूल सुक्दा के अनुभूति हुन्छ ?
अपुताेलाई के थाहा
सडकमा रक्ताम्य फूल देख्दा के पीडा हुन्छ ?
अपुताेलाई के थाहा
सिसाले घाइते फूलकाे छटपटी देख्दा के तड्पन हुन्छ ?
अपुताेलाई के थाहा
आफू भोकै बसेर सन्तानलाई स्याहार्दा के समर्पण हुन्छ ?
अपुताेलाई के थाहा
सन्तान भोलिको आशा हो भन्ने कुरा ?
अपुताेलाई के थाहा
प्रहरीकाे गोली फूलमा लागेकाे खबरको कानसम्म पुग्दाकाे शून्यता ?
अपुताेलाई के थाहा
घण्टौँपछि आफ्नै फूल निमाेठिएकाे खबर पाउँदाकाे बिक्षिप्तता ?
अपुताेलाई के थाहा
फूल भएर पनि छिनिएका मायाकाे बन्धन के हो ?
अपुताेलाई के थाहा
फूल फुल्न नपाउदै काेपिलामै त्याग कस्ताे हाे ?
अपुताेलाई के थाहा
अनाथपन कस्तो विरक्तपन हाे ?
दरबार भित्र बसेकाे अपुताेलाई के थाहा
सडकमा प्रहरीकाे गाेली खानुकाे दर्दनाक अबस्था ?
अपुताेलाई के थाहा
सडकमा प्रहरीले सिसा दिएकाे पिल्स्याइ कस्ताे हुन्छ ?
अपुताेलाई के थाहा
फूलले पानी माग्दा गाेली लागेर जवानी गुमाएकाे ?
अपुताेलाई के थाहा
फूलका अपेक्षा के कस्ता हन्छन् ?
दरबारकाे अपुताेलाई के थाहा
सडकमै गाेलि लागेर रगतले लत्पत्याइकाे संसार के हाे ?
मनमाेहन ठकुल्ला
ठेगाना : पूर्वीचाैकी गा पा २ बगलेक, डाेटी
अध्ययन : स्नातकोत्तर तह











