कैलाली /कैलालीको लम्कीचुहा नगरपालिका–१ मा जुत्ता–चप्पलको गोदाममा आगलागी हुँदा ठूलो आर्थिक क्षति भएको छ। इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार मंगलबार बिहान करिब २:४० बजे टीकापुर रोडस्थित कल्पना ट्रेडर्स एण्ड सप्लायर्स मा अचानक आगलागी भएको हो।
लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन सकिएको भए पनि गोदामभित्र राखिएका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब ८० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।
स्थानीय कल्पना जैशीले सञ्चालन गर्दै आएको उक्त गोदाममा चप्पल र जुत्ता मात्र रहेका कारण मानवीय क्षति भने नभएको प्रहरीले स्पष्ट पारेको छ। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।











