काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गर्दै आज देशभर विशेष गरी उपत्यकामा इन्द्रजात्रा पर्व मनाइँदै छ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन सुरु हुने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा विशेष उत्साहका साथ मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म यो जात्रा सञ्चालन हुने परम्परा छ।
आजको मुख्य आकर्षणमा हनुमानढोका दरबार अगाडिको गद्दी बैठकमा जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा हुनेछ। यसअघि राजाले दर्शन गर्ने परम्परा रहेकोमा अहिले राष्ट्रपतिबाट अवलोकन गर्ने चलन छ।
जात्राभरि भैरवपूजा, भक्कु नाच, महाकालीनाच, लाखेनाच, दशावतार नाच, पुलुकिसी नाचजस्ता परम्परागत प्रस्तुति देखाइन्छ। जात्रा सुरु भएको आठौँ दिन ‘इन्द्रध्वज पातन’ अर्थात् लिङ्गो लडाउन गरिने धार्मिक विधान छ।
यस अवसरमा भक्तजनले दहचोकस्थित इन्द्रदहमा स्नान र जाग्राम गर्ने परम्परा पनि पालना गर्छन्।
इन्द्रजात्रासँगै आज ‘अनन्त चतुर्दशी’ पर्व पनि मनाइन्छ। यस दिन भगवान् विष्णुको आराधना गरी अनन्त धागो बाँध्दा वर्षभर शुभ हुने विश्वास छ। यज्ञोपवीत (जनै) मन्त्रण गर्न बाँकी रहेका लागि आज मन्त्रण गर्ने शास्त्रीय व्यवस्था रहेको धर्मशास्त्रविद्हरूले बताएका छन्।











