कैलाली /कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधि ठेकेदारको ढिलासुस्तीका कारण सडकमै उत्रिएका छन्।
चौकीडाँडा–फल्टुडे सडक निर्माण कार्य तोकिएको समयमा सम्पन्न नहुँदा उनीहरूले ठेकेदारलाई दबाब दिन सडकबाटै सेवा प्रवाह गर्न थालेका हुन्। करिब डेढ वर्षमै सकिनुपर्ने काम लामो समयसम्म रोकिएपछि असन्तुष्टि बढेको जनप्रतिनिधिहरूले बताएका छन्।
गोदावरी नगरपालिका–३, १०, ११ र १२ नम्बर वडाले दुई दिनदेखि वडा सेवामै सडकलाई कार्यालय बनाएका छन्। वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाहीका अनुसार मृत्युदर्ता, जन्मदर्ता, नागरिकता सिफारिसलगायतका सबै काम सडकमै भइरहेको छ।
“अब पनि सुनुवाइ भएन भने अत्तरिया चौकमा सडक बन्द गरेर आन्दोलन गर्छौं,” अध्यक्ष शाहीले चेतावनी दिएका छन्।
यसअघि पनि पटक–पटक ठेकेदारलाई ध्यानाकर्षण गराइएको तर सुनुवाइ नभएपछि सडकमा उत्रनुपरेको वडा नम्बर १२ का अध्यक्ष भीमबहादुर खड्काले बताए। उनका अनुसार छ वर्षदेखि अधूरो सडकका कारण स्थानीयले ठूलो दुःख पाएका छन्।
यस सडकलाई वैकल्पिक राजमार्गका रूपमा लिइएको छ। सडक बनेपछि अत्तरियादेखि फल्टुडेसम्मको दूरी करिब २२ किलोमिटर छोटिने जनाइएको छ। साथै, गोदावरीका चार वडा र चुरे गाउँपालिकाका चार वडालाई जोड्ने योजना रहेको छ।
सडकको सेतोपुलदेखि वडा नम्बर १० कार्यालयसम्मको २.२ किलोमिटर खण्ड २०७७ सालमा एडभेन्चर–थेगिम–सनलाइट जेभीले ठेक्का पाएको थियो। २०७८ माघभित्र काम सक्नुपर्ने भए पनि अझै करिब आधा मात्र काम भएको छ।
त्यसैगरी, वडा नम्बर १० कार्यालयदेखि बान्द्रेसालसम्म तीन किलोमिटर सडक बनाउन २०७९ चैतमा तेडी निर्माण सेवासँग सम्झौता भएको थियो। १८ महिनाभित्र पूरा गर्नुपर्ने यो खण्डमा पनि आधा काम मात्र भएको छ।











