दार्चुला /दरमुकाम खलङ्गामा अहिले खानेपानीको ठूलो समस्या देखिएको छ। अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएपछि खानेपानी पुर्याउने मुख्य पाइपलाइन भत्किएर आपूर्ति पूर्ण रूपमा बन्द भएको हो। यसका कारण बजार क्षेत्रमा सामान्य जीवनयापन गर्नै कठिन भएको छ। खलङ्गा खानेपानी ढल तथा सरसफाइ उपभोक्ता समितिमार्फत महाकाली नगरपालिका–४ र ५ का बस्तीमा जाने पानी रोकिने वित्तिकै स्थानीयवासीलाई खाना पकाउन, सरसफाइ गर्न र पिउनसमेत समस्या परेको छ। पानी नपाएर सेना र सशस्त्र प्रहरीबाट सहयोग माग्नुपर्ने अवस्था आएको स्थानीय कलावती भाटले बताइन्।
महाकाली नगरपालिका–३ अन्तर्गत बडाली नजिकै पहिरो खस्दा ट्याङ्कीमा जाने मुख्य पाइपलाइन भत्किएको र त्यसैका कारण तीन दिनदेखि आपूर्ति पूर्ण रूपमा ठप्प भएको समितिका अध्यक्ष जयदेव जोशीले जानकारी दिएका छन्। स्थानीय सङ्गीता धामीका अनुसार पानी नहुँदा सरसफाइसम्म गर्न नसक्ने बाध्यता सिर्जना भएको छ। समितिले भत्किएको पाइपलाइन मर्मत गर्ने काम सुरु गरिसकेको र छिट्टै आपूर्ति नियमित हुने आशा दिएको छ।
पाइपलाइन भत्किएपछि बडालीको मेन लाइन र मालबेलाको शाखा लाइन दुवै प्रभावित भएकाले ट्याङ्कीमा पानी जम्मा हुन सकेको छैन। यस्तो अवस्थामा महाकाली नगरपालिकाले दमकलमार्फत धौलीगाड खोलाबाट पानी ल्याई बजार क्षेत्रमा वितरण गर्दै आएको छ। नगर प्रहरी हवलदार विजयसिंह ऐरीका अनुसार स्थानीयको पीडा कम गर्न आपतकालीन रूपमा दमकल प्रयोग गरिएको हो।
हाल खलङ्गा खानेपानी ढल तथा सरसफाइ उपभोक्ता समितिले वडा नम्बर ४ का बङ्गाबगड, तिङ्करखेडा, बीच बजार र वडा नम्बर ५ का मोहती तथा गल्फै क्षेत्रमा आपूर्ति गर्ने पानी पूर्ण रूपमा रोकिन्छ। समितिको तथ्याङ्कअनुसार झण्डै २,३०० उपभोक्ता प्रत्यक्ष प्रभावित भएका छन्। लगातार वर्षा र पहिरोका कारण मर्मतमा ढिलाइ हुँदै समस्या अझ गम्भीर बनेको छ, जसले दैनिक जीवन कष्टकर बनाइदिएको छ।











