कञ्चनपुर — पछिल्लो १२ घण्टामा कञ्चनपुरमा ठूलो पानी परेको छ। दोधारा क्षेत्रमा मात्रै १७९ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जोगबुढा (मायापुरी) जलमापन केन्द्रमा जलसतह सतर्कता तह नाघेकाले नदी किनार र आसपासका बस्तीमा बस्नेहरुलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार आज बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अझै ठूलो पानी पर्ने सम्भावना छ।
यस्तै, कोशी र लुम्बिनी प्रदेशका केही ठाउँमा, तथा अन्य पहाडी र तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
राति सुदूरपश्चिमका विभिन्न स्थानमा, साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेश र अन्य पहाडी भूभागमा वर्षा हुने पूर्वानुमान गरिएको छ।
गएराति कञ्चनपुरसँगै कास्की र ताप्लेजुङमा पनि भारी वर्षा भएको महाशाखाले जनाएको छ।
त्यसैगरी डडेलधुरा, बागलुङ, म्याग्दी, चितवन, सिन्धुपाल्चोक, दोलखा, डोटी लगायतका जिल्लामा मध्यम वर्षा मापन गरिएको छ।











