डडेल्धुरा /डडेल्धुराको नवदुर्गा गाउँपालिका–५, चौडमा बिहीवार बिहान भएको जीप दुर्घटनामा चार जनाकाे ज्यान गएकाे छ ।
से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परी मृतक हुनेमा १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेको प्रहरीले पुष्टि गरेको छ। सबैको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका डीएसपी टेकबहादुर जोराले जानकारी दिए। शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल लगिएको छ।
यस दुर्घटनामा थप चार जना घाइते भएका छन्। घाइते हुनेमा १८ वर्षीया सुशिला बिक, चार वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र चालक ३५ वर्षीय रामबहादुर साउद रहेका छन्।
त्यसमध्ये बिक र चालकको अवस्था गम्भीर छ र उनीहरुलाई डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।











