कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्लामा गएको रातिदेखि भएको अविरल वर्षापछि महाकाली नदीमा पानीको बहाव उल्लेख्य बढेको छ। यसकै प्रभाव स्वरूप शनिबार बिहानदेखि नेपाल–भारत सीमा नाकास्थित बनबासा पुल (शारदा ब्यारेज) हुँदै ठूला सवारी साधनको आवतजावत रोकिएको छ।
शनिबार दिउँसो महाकालीको बहाव एक लाख ७० हजार ६०६ क्यूसेक पुगेको बाढी मापन केन्द्रले जनाएको थियो। यद्यपि दिउँसो यता वर्षा कम भएपछि पानी घट्न थालेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी नायव उपरीक्षक तथा कञ्चनपुर प्रहरी प्रवक्ता सागर बोहराका अनुसार शनिबार साँझ ६ः१५ बजेसम्ममा बनबासा पुलमा पानीको बहाव घटेर एक लाख ३१ हजार ०५८ क्यूसेकमा पुगेको छ।
उहाँका अनुसार पुलमा अहिले चार पाङ्ग्रे सवारी साधनको आवतजावतमा अस्थायी रोक लगाइएको छ भने दुई पाङ्ग्रे सवारी साधन र पैदल यात्रु भने निर्वाध आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ।











