सिलगढी
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान नजिकै रहेकाले देशभर मनसुन सक्रिय बनेको छ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षाको गतिविधि थप बढ्ने देखिएको छ।
हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भूभागमा सामान्यतया बदली छ भने अन्य स्थानहरूमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही भागमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा र तराईका केही क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनीको तराई, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई ठाउँमा भारी वर्षा हुन सक्ने अनुमान छ।
आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली हुनेछ। यी प्रदेशका केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ। गण्डकीको पहाडी र लुम्बिनीको तराई भूभागमा भारी वर्षा हुन सक्ने देखिन्छ।
मौसम महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।











