कैलाली /कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका ११ वर्षीय बालकको शव सोमबार बिहान भेटिएको छ। गोदावरी नगरपालिका–९, बल्मीका दीपेन्द्र जोशी आइतबारदेखि हराइरहेका थिए।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार आइतबार दिउँसो घरबाट निस्केका बालक घर नफर्केपछि परिवारले खोजी थालेका थिए। सोही क्रममा दीपेन्द्रका साथी पारस धामीले प्रहरीले दिएको बयानमा “नदीमा नुहाउने क्रममा उनी डुबेको” बताएका थिए।
तीन जना साथीहरू नदीमा गएका मध्ये दीपेन्द्र मात्रै हराएको र साथीहरूको विवरणका आधारमा खोजी गर्दा सोमबार बिहान उनको शव भेटिएको प्रहरीले जनाएको छ।











