दार्चुला /दार्चुला जिल्लामा निरन्तर वर्षापछि पहिरोको जोखिम बढ्दै गएको छ। व्यास गाउँपालिका–२, राप्लामा आइतबार राति खसेको ठूलो पहिरोले दुई परिवारको घर चर्किएको छ भने अन्य परिवारलाई पनि असुरक्षित बनाएपछि विस्थापित गर्नुपरेको स्थानीयहरूले बताएका छन्।
पीडितलाई स्थानीयवासी, जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा मिलन केन्द्रमा अस्थायी रुपमा राखिएको व्यास गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुँवरले जानकारी दिनुभयो।
लगातारको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठूलो क्षति पुगेको छ। शैल्यशिखर नगरपालिका–८, सिमखेतमा तोयराज जोशीको हालै निर्माण गरिएको दुईतले घर पहिरोले भत्काउँदा परिवार छिमेकीको घरमा बस्न बाध्य भएको छ। “ऋण गरेर बनाएको घर भत्किएपछि जीवन अझै संकटमा परेको छ,” उहाँले दुखेसो गर्नुभयो।
लेक्म गाउँपालिका–५ का नवराज जोशीको घर माथिबाट खसेको पहिरोले उच्च जोखिममा परेको छ। उहाँ परिवार र गाईबस्तुसहित छिमेकीको घरमा आश्रय लिनुभएको छ। त्यस्तै, मालिकार्जुन गाउँपालिका–७ का गङ्गासिंह धामीको तीनतले ढुङ्गाको घर समेत पहिरोले भत्काएको छ।
यी परिवारहरूले तत्काल राहत र सुरक्षित बासको माग गरेका छन्।
यसैबीच, पहिरोका कारण ग्रामीण सडकहरू पनि भत्किएका छन्। महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलङ्गा सडकखण्ड आइतबार रातिदेखि अवरुद्ध भए पनि सोमबार बिहान सफा गरी सञ्चालनमा ल्याइएको हो। तर, फेरि पहिरो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ।
व्यास गाउँपालिका–१, तिंकर खोलामा आएको बाढीले छाङरु–टिंकरलाई जोड्ने काठे पुल र सडक बगाउँदा तिंकर गाउँ अलगिएको छ। अहिले नौवटै स्थानीय तहका धेरै बस्तीमा बाढी–पहिरोको उच्च जोखिम कायम रहेको स्थानीय बासिन्दाले बताएका छन्।











