कञ्चनपुर /कञ्चनपुरमा कुल ३९ वटा छाउगोठ भत्काइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार, बेदकोट नगरपालिका–१० मा २३ र कृष्णपुर नगरपालिका–१ मा १६ छाउगोठ भत्काइएको हो।
प्रहरी, स्थानीय जनप्रतिनिधि, सङ्घसंस्था र बासिन्दाको उपस्थितिमा निगाली र भेन्टी बजार क्षेत्रमा रहेका छाउगोठहरू हटाइएको हो। गत असारमा कृष्णपुर–१ निगालीकी २८ वर्षीया कमला दमाइको छाउगोठमा बस्दा सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासनले सबै स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो।
बेदकोट–१० का वडाध्यक्ष रतनसिंह विष्टले भत्काइएका परिवारलाई अभिमुखीकरण गर्ने तयारी भइरहेको बताए। उनका अनुसार, पुनः छाउगोठ निर्माण हुन नदिन सचेतना आवश्यक छ।
त्यस्तै, कृष्णपुर–१ का वडाध्यक्ष मोहन बस्नेतले १६ छाउगोठ भत्काइएको र यसपटक स्थानीयले अवरोध नगरेको जानकारी दिए। उनले विगतमा अवरोधका कारण अभियान रोकिएको भए पनि हाल जनचेतना बढेको बताए।
गत असार अन्त्यतिर कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि कृष्णपुर नगरपालिकाले १५ दिनभित्र छाउगोठ नहटाए कानुनअनुसार कारबाही र १० हजार रुपैयाँ जरिवानाको चेतावनी दिएको थियो।











